धार्मिक अतिवाद विरुद्ध जुटौं !!

October 5, 2023
min read
पछिल्ला केही दिनहरूमा नेपालका धार्मिक अल्पसङ्ख्यकहरू माथि हिन्दु अतिवादीहरूले नियोजित र सङ्गठित रूपमा गरिराखेको अमानवीय दुर्व्यवहार र हिंसा घटनाहरू अवैध, अनुचित, खेदपूर्ण र भर्त्सनायोग्य छन् । धरान, मलंगवा हुँदै नेपालगन्जमा भएका यस्ता योजनाबद्ध र सङ्गठित हिंसा, अशान्ति र दङ्गाका घटनाहरू प्रति हाम्रो खेद छ ।
नागरिकको जिउ-धनको सुरक्षा गर्ने दायित्व बोकेको राज्यले यस्ता घटनाहरूमा कतिपय सन्दर्भमा देखाएको मौनता र हिन्दु अतिवादीहरू प्रति राज्यले देखाएको नम्रता र पक्षधरताको पनि हामी भर्त्सना गर्दछौँ । मलंगवामा कर्फ्युकै बिचमा प्रहरी कार्यालयकै आसपासमा भएका हिंसा र लुटपाटका घटनामा समेत कसैलाई कारबाही नहुनुले राज्य र यसका सञ्चालकहरूको अनुत्तरदायी, अनैतिक र गैर जबाफदेही चरित्र उदाङ्गो पारेको हाम्रो ठम्याई छ । कानुनको कार्यान्वयनमा उदासीनता देखाउँदै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सत्ताधारीहरू बाट जारी “अपिल” व्यर्थ हुने प्रस्टै छ ।
नेपाली समाजमा विद्यमान आर्थिक अन्तरविरोधहरू , मुठ्ठीभर मानिसहरूको हातमा उत्पादनका साधनहरूको केन्द्रिकरण र यसले नेपाली समाजका निम्त्याएको असन्तोषको प्रतिगामी समाधान खोज्ने प्रयत्न नेपालको राजनीतिमा जारी छ र यसको परिणाम नेपाली राजनीतिक व्यवस्था तानाशाही तन्त्र उन्मुख छ । आफ्नो कुत्सित उद्देश्य पुरा गर्न यो प्रतिगामी प्रवृत्तिले समाजको आधारभूत वर्गलाइ विभाजित बनाउने प्रयत्न गर्छ र यसका लागी विभिन्न अर्थहीन भाष्य निर्माणको प्रयत्न गर्छ । यसले आफ्नो भाष्य प्रतिकूलका अल्पसङ्ख्यकको दानवीकरण गर्छ र तिनीहरूमाथि बर्बर दमन गर्छ, अनि समाजमा स्थायी शत्रु सिर्जना गर्ने प्रयत्न गर्छ । मुठ्ठीभर मानिसहरूको आर्थिक स्वार्थको रक्षार्थ यहाँ तानाशाही तन्त्र लागू गर्ने प्रयत्न र पूर्वाभ्यासका रूपमा यी भर्त्सनायोग्य कुकृत्यहरूको आयोजना धर्मका नाममा गरिएको हो भन्ने हाम्रो ठम्याई छ । यी कुकृत्यका धार्मिक अतिवादी आयोजकहरूको नेतृत्व यहाँका प्रतिगामी शक्तिहरूले गर्छन् र यी कुकृत्यहरू छिमेकी भारतका हिन्दुत्ववादी सङ्गठन राष्ट्रिय स्वयंसेवक सङ्घ (आर. एस. एस.) का अनुभवहरूका मार्गदर्शनमा भएका छन् भन्ने हामी ठान्छौँ ।
यस सन्दर्भमा हामी -
• धार्मिक अतिवादीहरूले डोर्याउदै गरेको तानाशाहीतन्त्र उन्मुख प्रयत्नहरूलाई विफल पार्न र जनतन्त्रका पक्षमा सङ्गठित रहन,
• आधारभूत वर्गलाई विभाजित गराउने तानाशाहीतन्त्र उन्मुख धार्मिक अतिवादी मतहरूबाट उद्वेलित नहुन अनि दृढता र संयततापूर्वक यस्ता मतहरूको खण्डन गर्न ,
• इन्टरनेट र सामाजिक सञ्जालहरूमा योजनाबद्ध रूपमा प्रचार गराइने झुट र भ्रमबाट जोगिन जोगाउन
• सामाजिक सञ्जालमा सम्प्रेषित हुने सूचनालाई आलोचनात्मक ढङ्गले बुझ्न बुझाउन, र
• मुठ्ठीभर पुँजीपतिहरूले कायम गरेको शोषण र प्रभुत्व विरुद्ध जुट्न अनि नयाँ, राम्रो, उन्नत र न्यायपूर्ण समाजको परिकल्पना र निर्माणमा अग्रसर हुन
हार्दिक अपिल गर्दछौँ ।

विश्वका श्रमिक तथा उत्पीडित समुदाय एक होऔँ!!
मिति: १८ असोज, २०८०

You Might Also Like