आज लोकतन्त्रका नाममा नोकरशाहीतन्त्र चलिरहेको छ। अर्थात् नचुनिएका सीमित मानिसहरूको हातमा वास्तविक शासन, र यसलाई टिकाउन एवम् विस्तार गर्न संगठित सुदृढ सैन्यबल आजको शासन व्यवस्थाको वास्तविक अनुहार हो। हामी यस्तो थोत्रो व्यवस्था भत्काउन र यसका ठाउँमा वास्तविक अर्थ मै सम्पूर्ण रूपमा लोकतन्त्र अर्थात् जनतन्त्र स्थापना गर्न चाहन्छौँ।
हामी त्यस्तो समाज बनाउन चाहन्छौँ जसमा समाजको एउटा अवयवले आफ्नो विकासको प्रयत्न गर्दा अर्को कुनै अवयवले उत्पीडनको अनुभूति गर्नु नपरोस्। समाजको एउटा अवयवको विस्तारको अर्थ अर्को अवयवको संकुचन नहोस्। हरेक मानिस सम्पूर्ण अर्थमा स्वतन्त्र होस्।
एकातिर २००७ सालमा संगठित नेपालको कम्युनिष्ट आन्दोलन आफ्नो ७ दशक लामो यात्रा पछी मुर्छित अवस्थामा छ। यस क्रममा यो आन्दोलनले थुप्रै प्रयोगहरु गरेको छ, अनि असफलताहरु र उपलब्धीहरु प्राप्त गरेको छ। यिनै उपलब्धीहरुको जगमा यसका प्रयोग र असफलताहरुबाट सिक्दै आजको नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः ब्यूझाउन वैचारिक एवम् राजनैतिक हस्तक्षेप गर्नु आवश्यक र अनिवार्य भएको छ।
अर्कोतिर सुन्दर र उन्नत समाज निर्माणको सपना बिर्सिएर स्थापित भनिएका राजनैतिक दलहरु आज दलाल, कमिसनखोरहरु, र पुजीपतिहरुको कारिन्दामा फेरिएका छन्। उनिहरुको लगानीमा वैध–अवैध तरिकाले चुनाव जित्नु, र राज्य संयन्त्रलाइ उनीहरूकै सेवामा लगाउनु यी राजनैतिक दलहरुको एक मात्र ध्येय भएको छ।
यो परिस्थिति फेर्न वैकल्पिक शक्ति निर्माण गर्छु भनेर आएका समुहहरुको दुखान्त अझ डरलाग्दो छ। यी समुहहरू समाजका आधारभूत संघर्षहरुबाट पन्छिएका छन्, र यी संघर्षहरूका दार्शनिकी, सैद्धान्तिकी र वैचारिकीमा धारणाविहीन छन्, विचारविहीनता नै तिनको विचार भएको छ। सप्ताहन्तका आन्दोलनजीविहरुको अभियन्ता मनोवृत्ति तिनको प्रमुख चरित्र भएको छ।
यो वस्तुगत यथार्थलाइ बोध गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः ब्यूझाउन वैचारिक एवम् राजनैतिक हस्तक्षेप गर्ने उद्देश्यका साथ द डायलेक्टिकल सोसाइटी गठन भएको छ। त्यस अर्थमा हाम्रो समाजमा विद्यमान वर्गीय अन्तरविरोधहरू, यसले सिर्जना गरेका उत्पीडनहरु र तिनका अनेकन् आयामहरुलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टीबाट हेर्न, बुझ्न, र यी अन्तरविरोध र उत्पीडनहरूको राजनैतिक हल खोज्न द डायलेक्टिकल सोसाइटी उद्दत/प्रतिबद्ध छ।
देशको श्रमशक्तिको बहुसंख्यक हिस्सा रोजगारीका निमित्त परदेशमा छ। देशको अर्थतन्त्र मूलतः रेमिट्यान्समा आधारित छ। त्यस अर्थमा प्रकारान्तरले देशको राजनीति पनि विदेशी पुँजीपतीहरुको हातमा छ।
मुनाफाका निमित्त प्रकृतिको र मान्छेको स्वत्वको चरम दोहन गर्ने सीमित पुँजीपतिहरूको दबदबा भएको यो व्यवस्थाले प्रकृति/पर्यावरण र सिङ्गो मानव जातीकै अस्तित्वमाथि खतरा पैदा गरेको छ।
हजारौँ वर्षदेखि चलिरहेको महिलाहरूमाथिको लैङ्गिक उत्पीडन आजसम्म पनि जारी छ। त्यस्तै लैङ्गिक तथा यौनीक अल्पसंख्यक समुदाय माथि हुने लैङ्गिक एवम् यौनीक उत्पीडन र यस समुदायको पहिचानकै स्वीकार्यता नदिने सामाजिक कुरीति पनि कायम छ।
दक्षिण एसियाको विशिष्ट समस्याका रुपमा रहेको मनुवादी वर्णव्यवस्थामा आधारित जात व्यवस्थाले हाम्रो समाजलाई मानवद्वेषी बनाएको छ र विभेदलाई समेत सामान्यीकृत गरेको छ।
धर्म/धार्मिक पहिचानका नाममा चलिरहेको सामाजिक शोषण बेहिसाब छ। राज्यले यसलाई वैधानिकता दिइरहेको छ, जसले सामन्ती चिन्तन जोगाउँदै वास्तविक समस्याको समाधानमा बाधा पुर्याएको छ।
शहरकेन्द्रित वर्तमान राज्य व्यवस्थाले देशका सम्पूर्ण स्रोतसाधनहरुलाई ठूला शहरमा केन्द्रित बनाएको छ। यसले ग्रामीण जीवनमाथि उत्पीडन थोपरेको छ र शहरी गरीबहरुलाइ झन् गरिब बनाएको छ। आदिवासी-जनजातीको पहिचान र भाषिक स्वत्व खोसिरहेको छ।
आजको नोकरशाहीतन्त्रको विकल्पमा हामी वास्तविक जनतन्त्र (लोकतान्त्रिक शासन) नै हाम्रो ध्येय हो । शासन प्रणालीको निर्णायक हिस्सा सम्पूर्ण जनताको नियन्त्रणमा रहने, नचुनिएका सीमित मानिसहरूको होइन, बहुसंख्यक जनसमुदायको हितमा चल्ने व्यवस्था हाम्रो प्राथमिकता हो।
प्रतिनिधि चयन प्रणालीलाई अझ समावेशी, समानुपातिक र जन उत्तरदायी बनाउँदै, हरेक नागरिकको वास्तविक सहभागिता सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं प्रतिनिधि छान्ने सवालमाा जनताको प्रत्यक्ष पहुँच कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने प्रश्नमा हामी हातेमालो गर्दै काम गर्न चाहान्छौँ ।
सम्पत्ति सम्बन्धमा रहेका असमानतालाई कम गर्न लागु गर्ने कार्यक्रम हाम्रो प्राथमिकताको विषय हो । अल्पसंख्यक मानिसका हितमा भैरहेको केन्द्रिकरणलाई रोक्दै बहुसङ्ख्यक मानिसको हितमा हुने राजनीतिक मार्गदिशा आवश्यक छ भन्ने हाम्रो धारणा हो ।
नेपाली समाजमा पुजीवादी स्वतन्त्रताको नाममा आज आएको अवशादपूर्ण अलगाव, जात व्यवस्था र पितृसत्ताले थोपरेका उत्पीडनहरू अनि उपभोक्तावादका विरुद्व संघर्ष गर्दै उन्नत र प्रगतिशील संस्कृति निर्माणका लागी हामी काम गर्छौं ।
विकासको अवधारणालाई नाफामुखी मात्र नभई मानवकेन्द्रित, दिगो र सन्तुलित बनाउने हाम्रो प्रतिबद्धता हो। यसले एकातिर समाजको पिँधमा रहेका मानिसहरूको समाबेसी उन्नतिको आधार तयार पार्नेछ भने अर्कोतिर सबै वर्गको मानिसको जीवनलाइ आनन्दपूर्ण बनाउनेछ ।
नाफामुखी दोहनले प्रकृति र मानव जातिमाथि उत्पन्न गरेको खतरालाई गम्भीरतापूर्वक लिँदै, पर्यावरणीय आन्दोलनलाई हाम्रो प्राथमिकतामा राख्छौं ।
प्रष्टै छ, यी सबै राजनैतिक समस्या हुन् र यिनका राजनैतिक समाधान खोजिनु पर्छ। समाजमा विद्यमान यी र यस्ता उत्पीडनहरूलाई जीवित राख्ने ऐतिहासिक अर्थराजनैतिक कारण, संरचना, र साधनहरू हुन्छन्। र, छन्। हामीले खोज्ने राजनैतिक समाधानले यी कारण, संरचना र साधनहरूको ध्वंसलाई सुनिश्चित गर्नु पर्छ। अन्यथा यस्तो राजनैतिक कार्यक्रम औचित्यहीन र व्यर्थ हुन्छ।
यो तब मात्र सुनिश्चित हुन्छ, जब हामी ती कारण, संरचना र साधनहरू के-के हुन् भन्ने पहिचान गर्न सक्छौँ, र सोही अनुरुप तिनलाई ध्वंस गर्ने संरचना र साधनको परिकल्पना र निर्माण गर्छौँ।
हाम्रो मुख्य जोड क्रान्तिकारी समाधानको शृङ्खलाको अंशका रुपमा आउने र जनजीवनमा आमूल परिवर्तन ल्याउने संघर्षको उठानमा रहनेछ। अर्थात हाम्रो मुख्य ध्यान समस्याको जरो पहिचान गर्ने र उखल्नेमा हुनेछ। यसैले हाम्रो भावी संघर्षको बाटो तय गर्नेछ।
हजारौँ वर्ष पुराना विरासतहरुको आडमा शक्ति आर्जन गरेर मैमत्त भएको यो पत्रु व्यवस्थालाई परास्त गर्न, र सुन्दर एवम् उन्नत समाज निर्माण हेतु हातमेलो गर्दै अघि बढौ।
हामीसँग सम्पर्क गर्नुहोस्विश्वका सर्वहारा तथा उत्पीडित जनता एक हौं !