प्रेस विज्ञप्ति - चैत्र १६, २०८२

March 29, 2025
min read
हिजो काठमाडौँको विभिन्न स्थानमा पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएका अराजक प्रदर्शन, हिंसा, आगजनी लगायतका घटनाको हामी निन्दा र भर्त्सना गर्दछौ ।राजतन्त्र पक्षधरहरूले राजनीतिक आवरण दिन प्रयत्न गरिरहेको यो अराजकता कुनै पनि अर्थमा क्षम्य छैन ।
घटनामा संलग्न केही मानिसहरू पक्राउ परेका छन् र अनुसन्धानको दायरामा छन् । तर पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा नल्याउँदा सम्म यो अनुसन्धानले पूर्णता नपाउने प्रष्टै छ । हामी ज्ञानेन्द्र शाहलाई कानुनको दायरामा ल्याउन, पूर्व राष्ट्रप्रमुखका रूपमा उनलाई दिइएका सबै सुविधा (सुरक्षा, भत्ता, विशेषाधिकार) खोस्न र रोक्न तथा उनका विरुद्ध अभियोग चलाउन राज्यसँग माग गर्दछौँ ।
सङ्घीय राजधानीमै र संसद भवनको नजिकै भएको यो स्तरको अराजकता हिंसा र लुटपाटको पूर्वानुमान गर्न नसक्नुमा गृह प्रशासनको कमजोरी र लाचारी प्रष्टै देखिन्छ । यो हिंसा "अचानक" भएको होइन र हुन सक्दैन । हामी यस घटनामा प्रधानमन्त्री, गृह मन्त्रालय र प्रहरी प्रमुखको सार्वजनिक जवाफदेहिताको माग गर्दछौँ।
निश्चित रूपमा हिजोको अराजक र हिंसात्मक घटनामा राजतन्त्र पक्षधरहरूका अराजनीतिक र आपराधिक हर्कतहरू नै जिम्मेवार छन् । तर सारमा हिजोको घटनामा यस व्यवस्थाका पक्षधरहरूको अक्षमता, नालायकी र त्यसले नागरिकमा पैदा गरिरहेको निराशा समेत उत्तिकै जिम्मेवार छ । जबसम्म यो व्यवस्था यस्तै रूपमा रहिरहन्छ , प्रतिगमनको खतरा रहिरहने छ । उन्नत र अग्रगामी व्यवस्थामा फड्किने इमानदार प्रयत्नले मात्रै वास्तविक अर्थमै प्रतिगमनको खतराको प्रतिवाद गर्न सक्नेछ । हामी अग्रगामी र वास्तविक अर्थमै उन्नत लोकतन्त्रका लागी दृढतापूर्वक लाग्न सम्बन्धित सबैमा अपिल समेत गर्दछौँ ।

चैत्र १६, २०८२

You Might Also Like